नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटियो ।
चितवनको जितमा बलर कमलसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । विराटनगरलाई अन्तिम १८ बलमा जितका लागि २१ रन आवश्यक रहेका बेला कमलले १८औँ ओभरमा लगातार दुई विकेट लिएपछि खेल चितवनको पक्षमा मोडिएको थियो ।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि डाविड मलानले ५१ बलमा ७० रन बनाए । रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।
विराटनगरका लागि इम्रान शेखले ३९ तथा आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । कमलको प्रभावशाली बलिङसँगै चितवनले एनपीएलको तेस्रो संस्करणमा रोमाञ्चक जित निकालेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया