नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक अन्तर्राष्ट्रिय मान्यता, नयाँ प्रविधि र विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । संस्करणको मुख्य नयाँ विशेषता निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) हो । पहिलोपटक सबै खेलमा प्रयोग गरिने यो प्रविधिबाट अम्पायरको निर्णयमा चित्त नबुझे टोलीले पुनरावलोकन माग्न सक्नेछन् ।
एलबीडब्लू निर्णय जाँच्न बल ट्र्याकिङ र ब्याटमा बल लागेको वा नलागेको छुट्याउन एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिनेछ । प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल पुनरावलोकनको अवसर पाउनेछन् । अर्को महत्त्वपूर्ण परिवर्तन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त आधिकारिक मान्यता हो ।
यस संस्करणका खेलले आधिकारिक टी–२० मान्यता पाएका छन्, जसका कारण खेलाडीको रन, विकेटलगायत प्रदर्शन उनीहरूको आधिकारिक टी–२० अभिलेखमा समावेश हुनेछ। यसले अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन सहज बनाउने अपेक्षा गरिएको छ ।
टोलीहरूले आफ्नो खेलाडी सूचीमा ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् भने खेल्ने ११ जनाको टोलीमा बढीमा चार विदेशी खेलाडी समावेश गर्न सकिनेछ । प्रतियोगितालाई व्यवस्थित बनाउन कीर्तिपुर मैदानमा पनि सुधार गरिएको छ । करिब दुई हजार अतिरिक्त दर्शक अट्ने सिट, ढाकिएको दर्शकदीर्घा, विद्युतीय स्कोरबोर्ड, खेलाडीका लागि नयाँ डगआउट र सञ्चारकर्मीका लागि छुट्टै केन्द्रलगायत सुविधा थपिएका छन् ।
नयाँ प्रविधि, अन्तर्राष्ट्रिय खेलाडीको उपस्थिति र सुधारिएको पूर्वाधारले एनपीएलको स्तर उकास्ने अपेक्षा गरिए पनि त्यसको वास्तविक प्रभाव प्रतियोगिताका खेलहरूमा देखिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया