एनपीएल-३ : विराटनगरलाई ८ रनले पराजित गर्दै चितवन राइनोजको विजयी सुरुवात

16 Shares

काठमाडौं । कमल ऐरीको उत्कृष्ट बलिङप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। एक समय १३२/४ को बलियो स्थितिमा रहेको विराटनगरले अन्तिम ६ विकेट १७ रन जोड्दा गुमाएको थियो।

चितवनका कमल ऐरीले २६ रन खर्चेर ४ विकेट लिए। रिजन ढकालले २ तथा टम टेलर, रञ्जित कुमार, ड्यान मौस्ले र मौसम ढकालले १–१ विकेट लिए।

विराटनगरका इमरान शेखले सर्वाधिक ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए। रसेल आउट भएपछि विराटनगरको ब्याटिङ धर्मराएको थियो।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। ओपनर डेविड मलानले ७० रन बनाउँदा कप्तान रवि बोपारा ३२ र ड्यान मौस्ले २९ रनमा अविजित रहे।

विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले १–१ विकेट लिए।