विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने, लिग–२ मा ओमानलाई हराउँदै नेपाल छैटौँ स्थानमा

55 Shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । प्रतियोगिता नेपालमा सञ्चालन गर्ने तयारीसँगै नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर थपिएको छ ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई १० रनले पराजित गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८० रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले ८० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रनको योगदान दिएका थिए ।

२८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा सात विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो । ओमानका जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई विकेट लिए । ओमानविरुद्धको जितसँगै नेपालले लिग–२ मा ३६ खेलबाट ३० अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।