पहिलो सिजनको चर्चा फर्काउने लक्ष्यमा कर्णाली याक्स

56 Shares

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्स पहिलो सिजनमा कमाएको चर्चा र मैदानमा देखाएको प्रदर्शनलाई पुनः दोहो¥याउने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ । पहिलो सिजन भारतीय ब्याटर शिखर धवनलाई टोलीमा भित्र्याएर चर्चामा आएको कर्णालीले प्लेअफसम्मको यात्रा तय गरेको थियो ।

तर दोस्रो सिजन अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली लिग चरणमै सीमित भएको थियो । तेस्रो सिजनका लागि कर्णालीले कप्तान सोमपाल कामी, गुल्सन झा र नन्दन यादवसहित अघिल्ला सिजनमा टोलीबाट खेलिसकेका खेलाडीलाई निरन्तरता दिएको छ ।

टोलीले अक्सनबाट विपिन शर्मा, दीपेन्द्र रावत, शुभ कंशाकार, सूर्य तामाङ, दिवान पुन र चिरन शर्मालाई पनि समेटेको छ । अनुभवी खेलाडी र नयाँ प्रतिभाको संयोजनबाट टोलीले यसपटक आफ्नो प्रदर्शन सुधार्ने अपेक्षा गरेको छ ।

विदेशी खेलाडी छनोटमा पनि कर्णालीले फरक रणनीति अपनाएको छ । टोलीमा स्कटल्यान्डका मार्क वाट, बंगलादेशका अकबर अली र अरिफुल इस्लाम तथा पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलातलाई समेटिएको छ । विदेशी खेलाडीको अनुभव र नेपाली खेलाडीको क्षमतालाई उपयोग गर्दै टोलीले ब्याटिङ, बलिङ र अलराउन्ड प्रदर्शनमा सन्तुलन कायम गर्ने लक्ष्य राखेको छ ।

कर्णाली याक्सको अर्को विशेषता स्थानीय खेलाडीलाई अवसर दिनु पनि हो । पहिलो सिजन ट्यालेन्ट हन्टमार्फत टोलीमा आएका विपिन शर्मा त्यसको उदाहरण हुन् ।