बाँकेमा डेंगु संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नगरका २३ वटै वडामा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको छ । गत पुसदेखि असोज १६ गतेसम्म जिल्लामा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले अभियानमा घर तथा समुदाय वरपर जमेको पानी, गमला, पानी राख्ने भाँडा, कुलर र एसीमा लामखुट्टेको बासस्थान खोजिनेछ । त्यस्ता स्थानमा भेटिएका लार्भा नष्ट गर्नुका साथै डेंगु र स्क्रब टाइफसबारे जनचेतना फैलाइने योजना छ ।
स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले संक्रमितमध्ये ४४ जना भेरी अस्पताल र ४६ जना निजी स्वास्थ्य संस्थामा पहिचान भएका बताएका छन् । अधिकांश बिरामी उपचारपछि घर फर्किएका थिए भने केहीको उपचार भइरहेको विवरण सार्वजनिक गरिएको थियो ।
डेंगुबाट बच्न घरवरपर पानी जम्न नदिन, पानी जम्मा हुने भाँडा नियमित सफा गर्न र लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु संक्रमणको जोखिम घटाउने महत्त्वपूर्ण उपाय हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया