इथियोपियामा दुई छुट्टाछुट्टै आक्रमणमा ६० जनाको मृत्यु

59 Shares

इथियोपियाको द्वन्द्व प्रभावित ओरोमिया क्षेत्रमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको । अक्टोबर २० मा मर्ती जिल्लामा १४ जना र अक्टोबर २४ मा शेर्का जिल्लामा ४६ जनाको ज्यान गएको हो । मृतक सबै इसाई धर्मावलम्बी रहेको चर्चले जनाएको छ ।

आक्रमणमा २० भन्दा बढी घरमा आगजनी गरिएको छ भने २० भन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन् । घटनालाई लिएर ओरोमिया क्षेत्रीय सरकार र विद्रोही गठबन्धनसँग सम्बन्धित एक स्रोतले एकअर्कालाई दोष लगाएका छन् । क्षेत्रीय सरकारले विद्रोही गठबन्धनमाथि धार्मिक द्वन्द्व भड्काउन आक्रमण गरेको आरोप लगाएको छ ।

विद्रोही गठबन्धनसँग सम्बन्धित स्रोतले भने घटनामा क्षेत्रीय सरकार जिम्मेवार रहेको दाबी गरेको छ । इथियोपियाको ओरोमिया क्षेत्रमा लामो समयदेखि सशस्त्र द्वन्द्व र असुरक्षाको समस्या रहँदै आएको छ । पछिल्लो घटनापछि चर्चले सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।