नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवानको प्रभाव बढेको भन्दै व्यङ्ग्य गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै उनले पार्वतीको श्रापपछि देवताका सन्तान जन्मिन रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको टिप्पणी गरेका हुन् ।
ओलीले पछिल्लो समय केही व्यक्तिप्रति देखाइने अन्धभक्तिमाथि पनि प्रश्न उठाए । विशेषगरी जोगी तथा धार्मिक व्यक्तिहरूलाई भेट्दा उनीहरूको वास्तविकता नबुझी श्रद्धा व्यक्त गर्ने प्रवृत्तिप्रति उनले व्यङ्ग्य गरेका थिए । कार्यक्रममा ओलीले अष्टाङ्ग योगका यम र नियमको महत्त्वसमेत चर्चा गरे ।
हिंसा नगर्ने, असत्य नबोल्ने, सत्यको मार्गमा हिँड्ने तथा अरूको सम्पत्तिमा लोभ नगर्ने आचरण समाजका लागि आवश्यक रहेको उनको भनाइ थियो । योगलाई ईश्वरवादसँग जोडेर हेर्ने प्रचलनबारे पनि आफ्नो धारणा राखे । योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने उल्लेख गर्दै ओलीले योग दर्शनका मूल मान्यतालाई बुझ्नुपर्नेमा जोड दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया