मौसमी रुघाखोकी र इन्फ्लुएन्जाबाट बच्न स्वास्थ्य निकायको आग्रह

61 Shares

मौसम परिवर्तनसँगै देखिन सक्ने मौसमी रुघाखोकी तथा इन्फ्लुएन्जाबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाले असोज ३१ गते अर्थात् अक्टोबर १८ मा मौसमी इन्फ्लुएन्जाबाट बच्ने उपायसम्बन्धी सूचना सार्वजनिक गरेको छ ।

इन्फ्लुएन्जा हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र मांसपेशी दुख्ने जस्ता लक्षण देखिन सक्छन् । संक्रमणबाट बच्न साबुनपानीले नियमित हात धुने, खोक्दा वा हाच्छिउँ गर्दा कुहिनाको भित्री भागले मुख छोप्ने, पर्याप्त पानी पिउने र आराम गर्ने सुझाव दिइएको छ । लक्षण देखिएमा तथा स्वास्थ्य जोखिम बढी भएका व्यक्तिले स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने महाशाखाले जनाएको छ ।

पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती महिला, स्वास्थ्यकर्मी तथा दीर्घरोग भएका व्यक्तिमा इन्फ्लुएन्जाको जोखिम बढी हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ । जोखिम समूहका व्यक्तिलाई मौसमी इन्फ्लुएन्जाविरुद्धको खोप लगाउन पनि सिफारिस गरिएको छ ।