भारतको पूर्वी तटमा शक्तिशाली चक्रवात ‘अर्नब’ को खतरा, हजारौँ मानिस सुरक्षित स्थानमा सारिँदै

29 Shares

भारतको पूर्वी तटमा शक्तिशाली चक्रवात ‘अर्नब’ नजिकिएपछि आन्ध्र प्रदेश र ओडिशामा सतर्कता बढाइएको छ । भारतीय मौसम विभागले चक्रवात अझ शक्तिशाली बन्ने र अक्टोबर २८ अर्थात् बुधबार बिहान आन्ध्र प्रदेशको तटमा प्रवेश गर्ने पूर्वानुमान गरेको छ ।

चक्रवातका कारण प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरको गतिमा हावा चल्ने तथा हावाको गति १४० किलोमिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ । प्रभावित क्षेत्रमा भारीदेखि अत्यधिक वर्षा हुने र तटीय तथा होचो भूभागमा बाढीको जोखिम बढ्ने अनुमान गरिएको छ ।

आन्ध्र प्रदेशमा सोमबार रातिसम्म जोखिमयुक्त क्षेत्रका करिब ५० हजार मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ । थप मानिसलाई सुरक्षित स्थानमा लैजाने काम जारी रहेको अधिकारीहरूले बताएका छन् । ओडिशाका केही जिल्लामा मंगलबार र बुधबारका लागि विद्यालय तथा कलेज बन्द गरिएको छ । चक्रवातको प्रभावले यातायात सेवासमेत प्रभावित भएको छ।

पूर्वी भारतमा कम्तीमा १२ रेल सेवा र दक्षिणी तटवर्ती क्षेत्रमा ५३ मार्गका रेल सेवा रद्द वा स्थगित गरिएका छन् ।