जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाबारे संसदीय सुनुवाइ समितिले पठाएका दुई पत्रको जवाफ अझै प्राप्त भएको छैन । थापाको जापानको स्थायी आवासीय अनुमति (पीआर) र त्यहाँको स्थानीय सरकारसँगको आबद्धताबारे आधिकारिक जानकारी माग्दै समितिले पत्राचार गरेको हो ।
समिति सभापति बोधनारायण श्रेष्ठले थापाको सुनुवाइअघि पीआरको अवस्था र सुनुवाइपछि जापानको स्थानीय सरकारसँगको सम्बन्धबारे स्पष्ट पार्न पत्र पठाइएको थियो । सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको र स्थानीय सरकारसँग आबद्ध नरहेको बताएका थिए ।
थापाको योग्यताबारे उठेका प्रश्नको आधिकारिक जवाफ नआएकाले समितिले उनको नाम अनुमोदन गर्ने विषयमा निर्णय गर्न सकेको छैन । परराष्ट्र मन्त्रालयमार्फत जापानसँग जानकारी मागिएको भए पनि जवाफ प्राप्त हुन बाँकी रहेको समितिका उपसचिव जगदीश न्यौपानेले बताएका छन् ।
समितिले आवश्यक विवरण प्राप्त भएपछि मात्रै थप छलफल गर्ने जनाएको छ । जवाफ नआएकै कारण प्रस्तावित राजदूत थापाको सुनुवाइसम्बन्धी अर्को बैठकको मिति पनि तय हुन सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया