कर्णाली प्रदेश सरकारविरूद्धको अविश्वासको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

19 Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले यस्ताे निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताउनुभएकाे हाे । प्रमुख सचेतक जिसीले नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै गत असार ३२ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय भएको बताउनुभयाे ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १४, नेकपाका १४, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र सांसद रहेका छन् । यसअघि कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएपछि कांग्रेसका पाँच र नेकपाका ११ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो ।