काठमाडाैं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर गएको बताउनुभएको छ ।
बिहीवार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङदेम्बेले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताउनुभएको हो ।
उहाँले संस्थापन ईतरका नेताहरुले बुधवार आयोजना गरेको कार्यक्रममा नेताहरुले गरेको भाषणतर्फ लक्षित गर्दै काँग्रेस पार्टीभित्र पनि गालीगलौजमा उत्रिने प्रवृत्ति हावी भएको बताउनुभयो ।
उहाँले हाल संसदमा पनि सोही अवस्था रहेको बताउनु भयो । संसदमा तर्क र विवेकको अभावका कारण मनपरी निर्णय हुने र पछि त्यसलाई पछि सच्याउने गरिएको उल्लेख गर्नुभयो । नेता आङदेम्बेले राजनीतिलाई नाफा–घाटाको हिसाब नभई जनताको सेवाको भावनाबाट अघि बढाउनुपर्ने बताउनु भयो । राजनीति विगतमा व्यवसायजस्तो बनेर नाफा–घाटाको हिसाबमा चल्ने गरेको उहाँको भनाई छ । उहाँले राजनितिलाई निस्वार्थ सेवामा रूपान्तरण गर्नु वर्तमान नेतृत्वको जिम्मेवारी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘४४ औँ वीपी स्मृति दिवसको यो पूर्वसन्ध्यामा काठमाडौंभरि कहीँ कतै आयोजना गरिएका धेरै यस्ता डबलिहरु हामीहरुले देख्यौँ । त्यहाँ व्यक्त भएका विचारहरु हामीहरुले कान भरि भरि सुन्यौँ । कति चित्त बुझ्यो, कति बुझेन यो आफ्नो छुट्टै छलफल र बहसको विषय होला । तर कतिपय आदरणीयले बोलेको कतिपय समकालिनले बोल्न नसकेको, आउने पुस्ताले पनि बोल्न मन नगरेको कुराहरु आफूले मानेकोले बोलिदिँदा खेरि अलि मलाई लाग्यो कि समय बिस्तारै तर्क र विवेक समयले भेटाउन सकिराखेको छैन । हराइराखेको छ । अनि मलाई लाग्यो, जब विवेक हराउँछ, त्यो बिस्तारै अहंकारमा परिवर्तित हुँदो रहेछ । जब तर्क हराउँछ, त्यो तर्क बिस्तारै गालिमा रुपान्तरित हुँदो रहेछ । विवेक र तर्क हराएर अहंकार र गालिमा परिवर्तित भएको त्यो दिन भर्खरै मात्र हिजोको दिन आज मेरो मानसपटलमा आज पनि गुन्जिराखेको छ । यो मेरो पार्टीको यथार्थता हो, आजको । यो आजको यथार्थता हो । त्यस्तै अवस्था संसदभित्र पनि छ । संसदमा न तर्क छ, न विवेक छ । जस्तो जे देख्यो त्यस्तै निर्णय गरिएको छ । विवेक गुमाएर अनि फेरी अप्ठ्यारो परेपछि फेरि सुल्टो बाटो हिँड्ने कोशिस गरिएको छ । बाटो के हो रु तय छैन । यही खालको अवस्था आज देखा परिराखेको अहिलेको अवस्था हो । हिजो राजनीति व्यवसाय जस्तो भएको देखिन्थ्यो । त्यसलाई निस्वार्थ सेवामा रुपान्तरित गर्ने आजको यो पुस्ताको काम हो । यो नेतृत्वको काम हो । यदि यसलाई हामीले व्यवसायको रुपमा हेर्यौँ भने यसले घाटा र नाफाको हिसाव गर्दो रहेछ । हिजोको हाम्रो राजनीति व्यवसाय जस्तो थियो । घाटा र नाफाकै हिसाव गरिन्थ्यो । इमानदार कार्यकर्ता कुन तुलामा छ, थाहा छैन । म वरिपरि घुम्नेहरुलाई खोजिन्थ्यो हेरिन्थ्यो । आफ्नो वरिपरिकोलाई खोज्ने प्रवृत्ति त्यो हिजो घाटा र नाफाको हिसाबबाट हेरिएको राजनीति थियो । आजको राजनीति घाटा र नाफाबाट होइन, लगानीकर्ताको प्रतिफलको लेखा र जोखामा होइन, आजको राजनीतिको यथार्थ धरातल कार्यकर्ताहरु, गरिब निमुखा श्रमजीवी किसान मजदुर हुन् । त्यही ठाउँबाट हामीहरुले आजको राजनीतिलाई हेर्नुपर्छ । त्यसैले यो नविन अभियानमा विवेक र तर्क हराइराखेको बेलामा त्यही मर्यादालाई, त्यही इमान्दारितालाई, त्यही निष्ठालाई जहाँ तर्क र विवेकहरु भरिपूर्ण होस् त्यसको खोजी गर्नका निम्ति पनि यो नविन अभियान हो ।’
उहाँले विवेक, तर्क, मर्यादा, इमान्दारिता र निष्ठालाई पुनः स्थापित गर्ने उद्देश्यसहित नयाँ अभियान आवश्यक रहेको बताउनु भयो । उहाँले वीपी कोईरालाको फोटो भुन्ड्याउने मात्रै नभई पार्टीलाई उहाँको आदर्श र सिद्धान्तमा चलाउने पनि बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया