वीपी विचार ब्रह्माण्डीय हो, कसैले कम्पनी रजिस्ट्रारमा दर्ता गराएको सामान होइनः विश्वप्रकाश

15 Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वीपी कोईरालाको विचार ब्रह्माण्डीय विचार भएको बताएका छन् । बिहीवार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वीपीको विचारमा कसैको ट्रेडमार्क नलाग्ने बताए ।

उनले वीपीको रगत आफूहरूसँग नरहेपनि वीपीको विचार, आदर्श र सिद्धान्त रहेको उल्लेख गरे । उनले काँग्रेसको वर्तमान नेतृत्वले वीपीको विचारलाई विश्वरभर फैलाउने बताउँदै गौतम बुद्धपछि विश्वले चिन्ने दर्शनका रूपमा वीपी कोईरालाका विचार र सिद्धान्तलाई स्थापित गर्ने दाबी गरे ।

शर्मा वीपी कोइरालाको विचार, सिद्धान्त र आदर्शलाई आत्मसात् गर्दै बदलिएको समयअनुसार देशलाई अघि बढाउने संकल्प गर्न काँग्रेसका नेता–कार्यकर्तालाई आह्वान समेत गरे । वीपीको रगतभन्दा पनि उनको विचारका लागि जीवन अर्पण गर्नेहरूको योगदानले नै वीपीको राजनीतिक दर्शनलाई राष्ट्रिय चेतनाको हिस्सा बनाएको उनले बताए ।

वीपी कोईरालाको आह्वानमा प्राण आहुति दिएका दुर्गानन्द झा र कामेश्वर कुशेश्वरलगायतका व्यक्तिहरूको उदाहरण दिँदै उनले वीपीको विचार कुनै परिवार वा वंशमा सीमित नभई सम्पूर्ण देशको साझा सम्पत्ति भएको बताए ।

दशकौँको राजनीतिक संघर्ष, सशस्त्र द्वन्द्व र कठिन परिस्थितिमा पनि काँग्रेसको विचारबाट विचलित नभएका कार्यकर्ताहरूलाई वीपीको मार्गमा अडिग रहन उनले आग्रह गरे । आगामी ५० वर्षपछि पनि नेपालका युवाले बुद्धपछि देशका महान् व्यक्तित्वको नाम लिँदा वीपी कोईरालाकै नाम स्मरण गर्ने वातावरण निर्माण गर्नु काँग्रेसको लक्ष्य हुनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘वीपी कोइराला नाम गरेको विचार यो व्रह्माण्डीय विचार हो । ब्रोडर विचार, यो केवल कम्पनी रजिस्ट्रारको कार्यालयमा, यो उद्योगको कार्यालयमा गएर दर्ता गरिए जस्तो सामान्य कुनै सामानको ब्रान्ड होइन । हामी वीपी कोईरालाको रगत बोकेका मानिसहरु होइनौं तर वीपी कोईरालाको विचार, बीपी कोइरालाको सिद्धान्तलाई, आदर्शलाई केन्द्रमा बोकेर बसेका हौं ।’

उपसभापति शर्माले पार्टीभित्र देखिएको मतभेद र आलोचनालाई स्वभाविक रुपमा लिन पनि पार्टी कार्यकर्तालाई आग्रह गरे ।