लोकतन्त्र ‘अपहरित’ भएको छ, पुनःस्थापना आवश्यक : केपी ओली

19 Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहरित’ अवस्थामा रहेको भन्दै यसको सुदृढीकरणभन्दा फर्काउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताउनुभयो । उहाँले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुनसक्ने बताउनु भयो ।

उहाँले विभिन्न देशमा नियमित चुनाव भएपनि लोकतन्त्र कमजोर वा अपहरित अवस्थामा रहेको उल्लेख गर्दै नेपाल समेत त्यस्तै अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले संविधान संशोधन नभई संविधानको रक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनु भयो । उहाँले गत वर्षको भदौमा भएको जेन–जी आन्दोलनलाई हिंसात्मक घटनाको संज्ञा दिँदै वैधानिक सरकारलाई अवैधानिक ढंगबाट फालिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपालको बलिदानपूर्ण लामो संघर्ष, त्याग र तपस्याबाट ल्याएको लोकतन्त्र वास्तवमा अपहरित भएको छ ।

आज लोकतन्त्रको सुदृढीकरण होइन लोकतन्त्रको वापसीको आवश्यकता छ । लोकतन्त्र कहाँ छ ? चुनावको आयोजन आफैंमा लोकतान्त्रिक अभ्यास त होला तर त्यो चुनावको आयोजन कस्तो परिस्थितिमा कस्तो अवस्थामा केका लागि गरियो त्यो महत्वपूर्ण छ । चुनावले मात्रै लोकतन्त्र हुँदैन । विभिन्न देशमा चुनाव हुने गरेका छन् तर लोकतन्त्र अपहरितको अपहरित छ । वास्तविक लोकतन्त्र छैन धेरै देशमा । हाम्रो देशमा पनि बोल्नको लागि जिब्रो चपाइरहनुपर्ने आवश्यकता छैन ।

भदौ २३, २४मा जुन भयानक क्षति गराउने, मार्ने, मराउने, आगजनी गराउने कार्य भयो । राणा शासनका विरुद्धको संघर्षमा यस्तो भएन । राणाहरुका घर आगो लगाइएन । सात सालमा पनि दरबारहरू जलाइएन । त्यसपछिका संघर्षहरूमा ४६ मा पनि गरिएन । ६२, ६३ मा पनि त्यस्तो गरिएन ।

माओवादीले सत्ता कब्जा गर्नका लागि हिंसात्मक बाटो उपयुक्त छ भनेर त्यो बाटो समात्यो तर यस्ता आगजनी, लुटपाट, तोडफोडका उपद्रवकारी, आतंकपूर्ण क्रियाकलापहरु गरेर समाजलाई आतंकको, भयको नियन्त्रणमा राख्ने क्रियाकलाप गरेन ।’ उहाँले सरकारले समाजलाई आतंक र भयको नियन्त्रणमा राख्ने उद्दत रहेको आरोप पनि लगाउनु भयो ।