काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह भारतसँग लम्पसार परेको आरोप लगाएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बालेन्द्र साह पनि पुरानाहरुजस्तै सत्ताका लागि भारतसँग लम्पसार परेको आरोप लगाएका हुन् । उनले भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रमलाई नेपालको विकास तथा पूर्वाधार योजनासँग जोड्ने विषय आपत्तिजनक भएको बताए ।
नेपालको विकासको खाका नेपालकै आवश्यकता, संविधान र राष्ट्रिय हितअनुसार तय हुनुपर्ने उनको भनाइ छ । भारतबाट प्रस्तावित साझेदारीको पुनःपरिकल्पनासम्बन्धी दस्तावेजमा नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप भएको उनको दाबी छ । उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरे ।
प्रधानमन्त्री साहको भारत भ्रमणपछि भारतले ईपीजी प्रतिवेदनको औचित्य समाप्त भएको घोषणा गरेको उल्लेख गर्दै उनले यस विषयमा नेपाल सरकारको धारणा पनि सार्वजनिक हुनुपर्ने बताए । सरकारले अब ईपीजी प्रतिवेदन गोप्य राख्न नहुनेमा जोड दिँदै उनले दुई देशको सहमतिका आधारमा गठन भएको प्रबुद्ध व्यक्ति समूहले दुई वर्षसम्म ठूलो रकम खर्च गरेर तयार पारेको प्रतिवेदनबारे नेपाली जनताले थाहा पाउनुपर्ने बताए ।
उनले नेपालतर्फका समूह संयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन परराष्ट्रमन्त्रीलाई हस्तान्तरण गरिसकेको भए पनि सरकारले सार्वजनिक गर्न हिच्किचाएको आरोप लगाए ।
‘दुई देशका सहमतिबाट छानिएका व्यक्तिले दुई वर्षसम्म निकै ठूलो रकम खर्च गरेर तयार गरेको यो प्रतिवेदनमा के कुरा लेखिएको छ ? नेपाली जनताले थाहा पाउनुपर्छ । नेपालको तर्फका प्रबुद्ध व्यक्ति समूहका संयोजक डाक्टर भेषबहादुर थापाले केही दिन अगाडि परराष्ट्रमन्त्रीज्यूलाई प्रतिवेदन बुझाइसक्नुभएको छ,’ उनले भने ।
थापाले प्रतिवेदन हस्तान्तरण गर्दा अब आफूले राखिरहनु उचित नभएको भन्दै परराष्ट्रमन्त्रीलाई जिम्मा लगाएको उनको भनाइ थियो । तर, परराष्ट्रमन्त्रीले प्रतिवेदनमाथि चासो नदेखाएको भन्दै उनले आपत्ति जनाए । ‘हस्तान्तरण गरिसकेपछि परराष्ट्रमन्त्रीज्यूले यो मैले राखीमात्र दिएको हुँ, ताल्चा लगाएको छ यसमा भन्नुभयो । उहाँले हेर्न नहुने चीज जस्तो गर्नुभयो,’ उनले भने ।
भारतका विदेश सचिवले सार्वजनिक रूपमा दुई देशबीचको सहमति तोड्दै ईपीजी प्रतिवेदनको औचित्य नरहेको बताइसकेको अवस्थामा नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको तर्क छ ।
‘अब म प्रश्न गर्न चाहन्छु, भारतका विदेश सचिवले सार्वजनिक रूपमा दुई देशको बीचको सहमतिलाई तोड्दै अब प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनको औचित्य छैन भन्ने कुरा उहाँले भन्नुभएपछि नेपालको परराष्ट्रमन्त्रीको हैसियतले त्यो ताल्चा खोलेर “हेर नेपाली जनता हो, यो प्रतिवेदन हामीले यस्तो तयार गरेका छौँ” भन्ने कुरा भन्दिने कि नभन्दिने ?’ उनले प्रश्न गरे ।
यदि सरकारले प्रतिवेदन लुकाइरहने हो भने त्यसको कारण पनि नेपाली जनताले खोज्नुपर्ने उनको भनाइ छ । उनले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको विषयलाई ओझेलमा पार्न ईपीजी प्रतिवेदनलाई प्रयोग गरिएको आशंका व्यक्त गरे ।
‘यदि तपाईंहरूले यसलाई लुकाउनुहुन्छ भने सबै नेपाली जनताले सोध्नुपर्ने हुन्छ, १९५० को सन्धि पुनरावलोकन गर्न मनमोहनजीको सहमतिलाई ओझेल पार्नको लागि, त्यसलाई छोप्नको लागि प्रबुद्ध व्यक्ति समूहको पोको लिनुभयो बाबुरामजीले,’ उनले भने ।
ईपीजी प्रतिवेदन भारतले खोजेजस्तो नभएपछि त्यसलाई निष्क्रिय पार्ने प्रयास भएको पनि उनले आरोप लगाए । भारतबाट सार्वजनिक गरिएको साझेदारीको पुनःपरिकल्पनासम्बन्धी दस्तावेजप्रति आपत्ति जनाउँदै उनले कुनै पनि स्वतन्त्र देशले अर्को देशमा गएर त्यहाँको विकास कसरी हुनुपर्छ भन्ने दस्तावेज घोषणा गर्न नसक्ने बताए ।
‘त्यो प्रबुद्ध व्यक्ति समूहको पोको केपी ओलीजीले गठन गरेको समितिले भारतले खोजेजस्तो नभएपछि अहिले त्यसलाई खत्तम पार्नको लागि कथित साझेदारीको पुनःपरिकल्पना भनेर भारतको दिल्लीबाट घोषणा गरियो । कुनै पनि स्वतन्त्र देशले अर्काको देशमा गएर नेपालको विकास कसरी हुन सक्छ भन्ने दस्तावेजको घोषणा गर्दैन,’ उनले भने ।
प्रधानमन्त्री साहले भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रममा सम्झौता गरेर आएको विषयप्रति पनि उनले प्रश्न उठाए । भारतले आफ्ना भौतिक संरचना तथा पूर्वाधार विकास गर्ने उद्देश्यले तयार पारेको कार्यक्रम नेपालले पनि कार्यान्वयन गर्न सक्ने गरी साझेदारीको पुनःपरिकल्पनासम्बन्धी दस्तावेजमा उल्लेख गरिएको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीले अर्काको देशले तयार गरेको पीएम गतिशक्ति भन्ने कार्यक्रममा सम्झौता गरेर आउनुभयो । भारतले आफ्नो भौतिक संरचना, आफ्ना भौतिक पूर्वाधार कसरी बनाउनेदेखि आफ्नो राष्ट्रको कसरी विकास गर्ने भनेर पीएम गतिशक्ति कार्यक्रम बनाएको छ । साझेदारीको लागि पुनःपरिकल्पना भनेको दस्तावेजमा भारतको पीएम गतिशक्तिलाई नेपालले कार्यान्वयन गर्न सक्ने भनेर लेखेको छ । यो के हो ?’ उनले प्रश्न गरे ।
उनले यस विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेको मौनतामाथि पनि प्रश्न उठाए । कांग्रेस सभापतिले दस्तावेजको अध्ययन गरे नगरेको र यस विषयमा पार्टीको धारणा सार्वजनिक गरे नगरेको भन्दै उनले प्रश्न गरे ।
‘अब नेपालका राजनीतिक दलहरूलाई भन्न चाहन्छु, नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी, उहाँहरूले कतै बोल्नुभयो कि नाइँ ? त्यसका सभापतिज्यूले यसको अध्ययन गर्नुभयो कि होइन ? नेकपा एमालेका अध्यक्षज्यूलाई भन्न चाहन्छु, उहाँको पालामा प्रबुद्ध व्यक्ति समूहको गठन भयो । त्यो भारतले अब औचित्य सक्यो भन्दाखेरि उहाँको भनाइ के छ ? नेपाली जनतालाई भन्नुपर्ने हो कि नाइँ ?’ उनले भने ।
ईपीजी प्रतिवेदन सार्वजनिक नगर्नुका पछाडि राजनीतिक स्वार्थ रहेको हुनसक्ने आशंका व्यक्त गर्दै उनले राष्ट्रिय महत्त्वका विषयमा विगतमा जस्तै अहिले पनि सत्ता स्वार्थका कारण सम्झौता गर्ने प्रवृत्ति दोहोरिएको आरोप लगाए ।
‘जसरी विगतमा कतिपय व्यक्तिले आफ्नो सत्ता स्वार्थको लागि कतिपय विषयमा लम्पसार परेका हुन्, यसमा पनि त्यही प्रवृत्तिको निरन्तरता देखिन्छ,’ उनले भने ।
उनले नेपाल–भारत सम्बन्धमा देखिएका असमान सन्धि तथा सम्झौताबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न पनि माग गरे । ईपीजी प्रतिवेदन र नेपाल–भारत सम्बन्धका पछिल्ला घटनाक्रमबारे प्रमुख राजनीतिक दलहरूको मौनतामाथि प्रश्न उठाउँदै उनले नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपाका नेताहरूले यस विषयमा सार्वजनिक धारणा राख्नुपर्ने बताए ।
विशेषगरी ईपीजी गठन भएको समयमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार रहेको स्मरण गराउँदै उनले भारतले प्रतिवेदनको औचित्य समाप्त भएको बताउँदा एमाले नेतृत्वको धारणा के हो भन्ने प्रश्न गरे । त्यस्तै, नेकपाका नेताहरूले विगतमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपाली भूभाग तथा असमान सन्धि–सम्झौताका विषय उठाउँदै आएको स्मरण गराउँदै अहिलेका घटनाक्रममा पनि स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया