ल फर्मबाट पक्राउ परेकी हस्तमाया बस्नेत रिहा, तीन जनालाई ५ दिन म्याद थप

9 Shares

काठमाडौं । आर्थिक लेनदेनसम्बन्धी विवादमा पक्राउ परेकी घरजग्गा कारोबारी हस्तमाया बस्नेत रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको आदेशपछि उनी रिहा भएकी हुन् ।

अदालतले बस्नेतलाई हिरासतबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ । उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ ।

बस्नेतलाई प्रहरीले कानुनी परामर्श लिइरहेका बेला काठमाडौंको कालिकास्थित जनचेतना ल फर्मबाट नियन्त्रणमा लिएको थियो । सादा पोसाकमा पुगेको प्रहरी टोलीले धरपकड गर्दै पक्राउ गरेको भन्दै उक्त प्रक्रियामाथि कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए ।

पक्राउका क्रममा प्रहरीले सुरुमा पक्राउ पुर्जी नदेखाएको र कानुन व्यवसायीहरूसँग विवाद भएपछि साँझ पुनः पक्राउ पुर्जी लिएर आएको ल फर्मको दाबी थियो । प्रहरीले भने अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको जनाएको थियो ।

अदालतको आदेशसँगै बस्नेत अब हिरासतबाहिरै बसेर मुद्दाको कानुनी प्रक्रिया अघि बढाउन सक्ने भएकी छन् । अन्य तीन जनामाथिको अनुसन्धान भने थपिएको म्यादअनुसार अघि बढ्नेछ ।