अयोध्या–जनकपुर सीधा रेल सेवा सुरु, १९ घण्टामै पुगिने

66 Shares


भारतको अयोध्या र नेपालको जनकपुरधामबीच सीधा रेल सेवा सुरु भएको छ । ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल सेवाको सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि अयोध्याबाट यात्रु बोकेर हिँडेको रेल मंगलबार जनकपुरधाम आइपुगेको छ । करिब ६०४ किलोमिटर दूरी तय गर्दै आएको रेलमा करिब एक हजार यात्रु सहभागी थिए । जनकपुरधाममा यात्रुहरूको स्वागत नेपाली र भारतीय झण्डा फहराउँदै फूलमालासहित गरिएको थियो ।

यो रेलले अयोध्या र जनकपुरधामबीचको यात्रा करिब १९ घण्टामा पूरा गर्नेछ। १७ वटा डिब्बा रहेको रेलमा एसी र स्लीपरसहितका सुविधा उपलब्ध छन् । नियमित यात्रु सेवा नोभेम्बर २८ अर्थात् मंसिर १२ गतेदेखि सञ्चालन गर्ने तयारी छ ।

निर्धारित तालिकाअनुसार रेल प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्याबाट छुटेर मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम पुग्नेछ । त्यसैगरी, प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या पुग्नेछ ।

रेलले भारतका मनकापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगर हुँदै जनकपुरधामसम्मको यात्रा गर्नेछ ।

भगवान् रामको जन्मभूमि मानिने अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो सेवाले धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आवागमन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।