भन्सार र भीसीटीएस प्रणाली एकीकृत गर्ने सरकारको प्रस्ताव, अवैध सामान मिसाउने बाटो बन्द गर्ने तयारी

62 Shares


भन्सारबाट वैधानिक रूपमा आयात गरिएका सामान ढुवानीकै क्रममा अवैध वस्तु मिसाएर ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) बीच एकीकरण गर्ने प्रस्ताव अघि सारेको छ ।

अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा विधेयकमाथिको दफावार छलफलका क्रममा यस्तो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । भन्सारबाट सामान आयात गरी बाहिरिएका सवारीसाधनले गन्तव्यसम्म पुग्ने क्रममा बीच बाटोमै अवैध सामान थप्ने वा वैधानिक सामानसँग मिसाएर ढुवानी गर्ने गरेको पाइएको छ ।

यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट स्वीकृत भएका सामानको विवरण र ढुवानी गर्ने सवारीसाधनको विवरणलाई एउटै प्रणालीमा जोड्न आवश्यक रहेको उहाँले बताउनुभयो । सचिव उपाध्यायले यसको उदाहरण दिँदै भैरहवा भन्सारबाट सामान लिएर काठमाडौं आउँदै गरेको एउटा गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपिएको र उक्त गाडी थानकोटमा पक्राउ परेको घटना उल्लेख गर्नुभयो ।

भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुनेछ। यसले भन्सारबाट निस्किएको सामानको परिमाण, प्रकृति र ढुवानी गर्ने सवारीसाधनको विवरणबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नेछ । फलस्वरूप बाटोमा सामान थप्ने, घटाउने वा अन्य वस्तु मिसाउने गतिविधि पहिचान गर्न सहज हुने सरकारको अपेक्षा छ ।

सरकारले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुका लागि भने हालकै प्रक्रियाअनुसार भीसीटीएसमा विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था कायम राख्ने प्रस्ताव गरेको छ। आयातित वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँगै जोडेर अनुगमन गर्ने व्यवस्था मिलाउन खोजिएको हो ।