सुनकोशी–मरिण आयोजना रोकिँदा किसानको क्षतिको पनि हिसाब गर्न सांसद झाको माग

64 Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले बेहोर्नुपरेको कृषि तथा आर्थिक क्षतिको समेत विस्तृत मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका क्रममा झाले सरकारको राजस्वमा भएको नोक्सानीको मात्र हिसाब गरेर नपुग्ने बताए।

आयोजना ढिलाइ हुँदा किसानले गुमाएको कृषि उत्पादन, आम्दानी र खेतीका अवसरको समेत मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ । झाले आयोजनाबाट १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए कति खेती हुन्थ्यो र कति उत्पादन प्राप्त हुन्थ्यो भन्ने विषयको अध्ययन गर्नुपर्ने बताए।

आयोजना रोकिँदा कति खेती प्रभावित भयो, कति सिजन सिँचाइ हुन सकेन र आगामी दिनमा किसानले अझै कति समय सिँचाइ सुविधाबाट वञ्चित हुनुपर्ने हो भन्ने विषयको समेत हिसाब निकाल्नुपर्ने उनले बताए ।

त्यस्तै, २०८२ साल कात्तिक २५ गते बोलपत्र रद्द गरिएको विषय उठाउँदै निर्माण कार्य सुरु भइसकेको र सुरुङको मुख्य खण्ड छेड्ने कामसमेत सम्पन्न भएको आयोजनामा नयाँ विधि तथा प्रक्रिया किन लागू गरियो भन्नेबारे छानबिन हुनुपर्ने उनले माग गरे। आयोजना रोक्ने निर्णयमा राजनीतिक पूर्वाग्रह थियो वा थिएन भन्ने विषयमा समेत निष्पक्ष अध्ययन हुनुपर्ने उनको भनाइ छ ।

झाले आयोजनाको वास्तविक लागत मूल्याङ्कन गर्दा राज्यकोषमा भएको आर्थिक नोक्सानीसँगै किसानले गुमाएको उत्पादन, आम्दानी र खेतीका अवसरलाई पनि समेट्नुपर्नेमा जोड दिए। यस्ता निर्णयको गम्भीर समीक्षा हुन सके भविष्यमा राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रिय महत्त्वका आयोजना रोक्ने वा रद्द गर्ने अवस्था रोक्न सहयोग पुग्ने उनले बताए।