अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक गतिविधिलाई सहज बनाउन समयसापेक्ष नरहेका पुराना तथा असान्दर्भिक कानुन खारेज र संशोधन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले नयाँ कानुन थप्ने तर पुराना कानुन संशोधन तथा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढाएको बताए ।
वाग्लेले विभिन्न अध्ययन तथा प्रतिवेदनले खारेज गर्न सिफारिस गरेका १५ वटा ऐन हटाउने प्रस्ताव अघि बढाइएको जानकारी दिए । नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गरी कानुनी सुधार गर्न खोजिएको उनको भनाइ छ ।
एउटा कानुनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को कानुनले नियन्त्रण गर्ने अवस्था हुँदा नीतिगत विरोधाभास सिर्जना हुन्छ । त्यसैले नियमनलाई आवश्यक सीमाभित्र राख्दै आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगअनुकूल कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए ।
अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायतका ऐन खारेज गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०६२ मा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत अघि बढाइएको उनले जानकारी दिए ।
वाग्लेले टिकट टाँस्ने तथा कालोबजारीसम्बन्धी पुराना कानुनी व्यवस्थाको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने बताए । नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानुन आइसकेको अवस्थामा पुराना र दोहोरिएका व्यवस्थालाई निरन्तरता दिनुभन्दा आवश्यक सुधार गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया