शैक्षिक योग्यताको विषयलाई लिएर विवाद चर्किएपछि इन्डोनेसियाका उपराष्ट्रपति जिब्रान राकाबुमिङ राकाले पदबाट राजीनामा दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनले बिहीबार संसद्मा राजीनामापत्र बुझाएका हुन् ।
सन् १९८७ मा जन्मिएका जिब्रानले सन् २०२४ अक्टोबर २० मा उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकाल पाँच वर्षका लागि तोकिएको थियो । उपराष्ट्रपति पदमा उम्मेदवारी दिने क्रममा उनले प्रस्तुत गरेको विदेशी शैक्षिक योग्यताको समकक्षता प्रमाणपत्रलाई इन्डोनेसियाको सर्वोच्च अदालतले अमान्य ठहर गरेपछि विवाद सुरु भएको थियो ।
अदालतको निर्णयसँगै उनको शैक्षिक योग्यतामाथि प्रश्न उठ्नुका साथै राजनीतिक दबाबसमेत बढेको बताइएको छ । उपराष्ट्रपति पद रिक्त भएमा ६० दिनभित्र नयाँ उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था छ । यसका लागि राष्ट्रपतिले दुई जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट जनपरामर्श सभाले नयाँ उपराष्ट्रपति चयन गर्ने संवैधानिक प्रावधान रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया