काठमाडौं । पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
कांग्रेस महामन्त्री उदयशमशेर राणाका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ। बैठकमा विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन तथा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनका विषयमा छलफल हुनेछ।
समाचार संकलन तथा प्रकाशनको विषयलाई लिएर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको थियो। उक्त घटनाको भर्त्सना गरेको कांग्रेसले यस विषयमा केन्द्रीय समिति बैठकबाट संस्थागत निर्णय गर्न लागेको हो।
यस्तै, गत असोजमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनबारे पनि बैठकमा छलफल हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया