दीपावली र छठको चटारो, माटाका सामग्री बनाउन कुम्हाल समुदायलाई भ्याइनभ्याइ

8 Shares

काठमाडौं । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व दीपावली र आस्थाको महापर्व छठ नजिकिँदै गर्दा माटोसँग जीवन र जीविका जोडिएको कुम्हाल समुदायलाई यतिबेला भ्याइनभ्याइ छ ।

दीपावलीको उज्यालो र छठको धार्मिक आस्थालाई जीवन्त बनाउने माटाका सामग्री तयार पार्न धनुषाको जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुम्हाल समुदाय बिहानदेखि साँझसम्म व्यस्त छन् ।

कसैका हात माटो मुछ्न जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार र मट्काको आकार दिइरहेका छन् । चाडपर्वको रौनकसँगै उक्त बस्तीका कुम्हाल समुदायको घरआँगनमा माटाका सामग्री बनाउने चहलपहल बढेको छ । वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठका बेला केही बढ्ने आशामा उनीहरू अहिले उत्पादनमा केन्द्रित भएका छन् ।

“कारोबार वर्षभरि सुस्त रहन्छ, चाडपर्वका समयमा मात्र बिक्री हुन्छ”, खजुरीका प्रतम पण्डितले भने, “त्यसैले अहिले सामान बनाउन हामी व्यस्त छौँ ।” अहिले सिजन भएकाले सामान बनाएर नजिकैको हाटबजारमा पुर्‍याउन हतारो हुने उनले बताए ।

बिहानको झिसमिसेदेखि साँझको अँध्यारोसम्म माटोसँग खेल्दै कुम्हाल समुदाय पर्वका लागि आवश्यक सामग्री तयार पार्न व्यस्त छन् । उनीहरूका लागि यो समय चाडपर्वको तयारी मात्र नभई वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो ।

“यो हाम्रो पसिना र मेहनतसँग परिवारको जीविका तथा पुख्र्यौली पेसाको निरन्तरता पनि जोडिएको छ”, स्थानीय सुन्दर पण्डितले भने, “हाम्रा लागि माटो केवल कच्चा पदार्थ होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानको आधार हो ।” यही माटोलाई विभिन्न आकार दिएर धार्मिक, सांस्कृतिक तथा घरायसी आवश्यकता पूरा गर्दै आएको उनले बताए ।

“दसैँ सकिएलगत्तै माटाका भाँडा बनाउने काममा लाग्छु”, अयोधि पण्डितले भने, “अहिले माटाका भाँडा बेचेर राम्रै आम्दानी हुने भएकाले अरू काम थाती राखेर यसमा लागेका हौँ ।” दसैँदेखि छठसम्म माटाका भाँडा बेचेर खर्च कटाउँदा एक लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए ।

दीपावलीमा घरघरमा बालिने माटाका दियोदेखि छठपर्वमा पूजाका लागि प्रयोग गरिने भाँडाकुँडासम्म कुम्हाल समुदायको श्रम र सीपको प्रत्यक्ष सम्बन्ध छ । तर, समयसँगै बजारमा आधुनिक तथा तयारी सामग्रीको प्रयोग बढ्दै जाँदा यही पुख्र्यौली पेसाको भविष्य भने अन्योलमा पर्दै गएको छ ।

चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यही पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुम्हाल समुदायका अगुवा रामनारायण पण्डितले बताए ।

प्लास्टिक, स्टिल, आल्मुनियम र अन्य आधुनिक सामग्रीले बजारमा स्थान विस्तार गर्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ । यसले गर्दा माटोसँग जीवन बिताएका कुम्हाल समुदायलाई आफ्नो पेसा जोगाउने र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्ने चुनौती थपिएको उनको भनाइ छ ।

“कुनै समय घरघरमा माटाका भाँडाकुँडा प्रयोग गर्ने चलन थियो । पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजा गर्न कलश र दीपावलीमा घरआँगन उज्यालो बनाउन दियो अनिवार्यजस्तै मानिन्थ्यो”, रामनारायणले भने, “तर, अहिले ती स्थान क्रमशः आधुनिक सामग्रीले लिन थालेका छन् । चाडपर्वमा माटाका सामग्रीको प्रयोग सीमित हुँदै जानुले परम्परागत पेसामा निर्भर परिवारको आम्दानी प्रभावित हुन थालेको छ ।”

उनका अनुसार लामो समयको श्रमपछि तयार भएका सामग्री बजारमा उचित मूल्यमा बिक्री नहुँदा मेहनतअनुसारको प्रतिफल पाउन कठिन भइरहेको छ । अर्कोतर्फ, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत, बजार व्यवस्थापन र प्रतिस्पर्धा पनि चुनौती बनेका छन् ।

बजारमा आधुनिक सामग्रीको चमक बढ्दै जाँदा माटोसँग जोडिएको परम्परागत पेसाको उज्यालो निभ्न नदिन राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक रहेको कुम्हाल समुदायको भनाइ छ ।