काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले आइतबारदेखि शुल्क तिर्नुपर्ने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरेको हो।
निर्धारित शुल्कअनुसार काठमाडौं भित्रिने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि छुट्टाछुट्टै दर तोकिएको छ।
आजदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार नागढुंगा सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले ६५ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। काठमाडौं छाडेर बाहिरिने यस्ता सवारीसाधनका लागि भने ६० रुपैयाँ शुल्क तोकिएको छ।
मिनी बस तथा मिनी टिपररट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने क्रममा २०० रुपैयाँ शुल्क लाग्नेछ।
मल्टी एक्सल ट्रक तथा भारी उपकरणले सुरुङमार्ग प्रयोग गरी काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिने क्रममा २५० रुपैयाँ सडक उपभोग दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया