चीनसँग आर्थिक सहकार्य बढाउने संकेत, नयाँ पुल हुँदै चीन पुगे किम जोङ उन

51 Shares

उत्तर कोरियाका नेता किम जोङ उन नयाँ सीमापार पुल हुँदै चीनको सीमावर्ती सहर दान्दोङ पुगेका छन् । अक्टोबर २४ मा भएको उनको एकदिने भ्रमणलाई चीन र उत्तर कोरियाबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ ।

भ्रमणका क्रममा किमले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । भेटमा दुवै देशबीचको ऐतिहासिक मित्रता कायम राख्दै व्यावहारिक सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको थियो । किमले चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा किम र वाङले कोरियाली युद्धमा मारिएका चिनियाँ सैनिकको स्मृतिमा निर्माण गरिएको स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरूले दान्दोङस्थित सवारीसाधन कारखानाको पनि अवलोकन गरेका थिए । भ्रमणपछि किम सोही दिन नयाँ पुल हुँदै उत्तर कोरिया फर्किएका थिए ।

चीन र उत्तर कोरियालाई जोड्ने करिब तीन किलोमिटर लामो नयाँ आम्नोक नदी पुल अक्टोबर १५ मा औपचारिक रूपमा उद्घाटन गरिएको थियो । सन् २०१४ मै निर्माण सम्पन्न भए पनि लामो समयदेखि सञ्चालनमा आउन नसकेको यो पुलले दुई देशबीच सामान ढुवानी र व्यापार विस्तारमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा किमको यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ ।