गम्भीर साइबर सुरक्षा कमजोरी पहिचान भएपछि नेपालका हजारौँ सरकारी वेबसाइट तथा केही डिजिटल सेवा अस्थायी रूपमा बन्द गरिएका छन् । वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (एज्ए) सफ्टवेयरमा दुईवटा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि सम्भावित साइबर आक्रमणबाट प्रणाली र तथ्यांक सुरक्षित राख्न यस्तो कदम चालिएको हो ।
यसबाट विभिन्न मन्त्रालय, विभाग, आयोग तथा स्थानीय तहका वेबसाइट प्रभावित भएका छन् । नेपाल राष्ट्र बैंकको वेबसाइट र केही बैंक तथा वित्तीय संस्थाका डिजिटल सेवा पनि अस्थायी रूपमा बन्द गरिएका छन् । राजस्व अनुसन्धान विभागको मालवाहक सवारी साधन अनुगमन प्रणाली (भीसीटीएस) समेत प्रभावित भएको छ ।
यसले सरकारी सूचना प्राप्त गर्ने तथा अनलाइन सेवा प्रयोग गर्ने सर्वसाधारण र व्यवसायीलाई असर पार्न सक्ने देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्रले प्रभावित प्रणाली सुरक्षित बनाउन प्राविधिक काम अघि बढाएका छन् । प्रणालीमा सुरक्षा अद्यावधिक गर्ने, कमजोरी परीक्षण गर्ने र आवश्यक जाँचपछि मात्रै वेबसाइट पुनः सञ्चालनमा ल्याउने प्रक्रिया जारी छ ।
केन्द्रका प्रमुख कार्यकारी अधिकृत किरण तिम्सिनाका अनुसार अद्यावधिक र परीक्षण पूरा भएका प्रणाली क्रमशः सञ्चालनमा ल्याइनेछ । धेरै सरकारी वेबसाइट आइतबार साँझदेखि सोमबार वा मंगलबारसम्म पुनः सञ्चालनमा आउन सक्ने अपेक्षा गरिएको छ ।
नेपालका सरकारी प्रणालीमा यी कमजोरीका कारण अनधिकृत पहुँच वा साइबर आक्रमण भएको पुष्टि नभएको सम्बन्धित निकायले जनाएको छ । जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द गर्नु सावधानीपूर्ण कदम भए पनि यस घटनाले सरकारी डिजिटल प्रणालीको नियमित सुरक्षा परीक्षण, समयमै सफ्टवेयर अद्यावधिक र दीर्घकालीन व्यवस्थापनको आवश्यकता फेरि उजागर गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया