बडादसैँको अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने १ हजार ३७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको १४ दिनमा उनीहरूमाथि कारबाही गरिएको बताएको हो ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार २ जना र लागुपदार्थ सेवन गरी सवारी चलाउने ३५ जना रहेका छन् । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले मापसेमा कारबाहीमा परेका चालकहरूमध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेको बताउनु भएको छ ।
लागुपदार्थ सेवन गरी सवारी चलाउने ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उहाँले जानकारी दिएका छ । दसैँका बेला यात्रुको आवागमन र सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले निगरानी र जाँचलाई तीव्र बनाएको थियो ।
चाडपर्वको समयमा चालकको लापरबाहीले यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा जोखिम बढ्न सक्ने भएकाले यस्तो जाँचलाई महत्त्व दिइएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न र यात्रुको सुरक्षालाई प्राथमिकता दिन चालकहरूलाई आग्रह गरेको छ ।
चाडपर्वमा सुरक्षित यात्रा सुनिश्चित गर्न नियम उल्लङ्घनविरुद्धको निगरानीलाई निरन्तरता दिइने प्रहरीको भनाइ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया