काठमाडौं । बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज देशभर कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ। धार्मिक मान्यताअनुसार माता कुष्माण्डाको पूजा गर्नाले शक्ति, ऐश्वर्य, विद्या तथा सुखसमृद्धि प्राप्त हुने विश्वास रहिआएको छ। नवरात्रका अवसरमा भक्तजनले घरघरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती तथा देवी स्तोत्र पाठ गर्दै माता दुर्गाको आराधना गरिरहेका छन्।
नौ दिनसम्म मनाइने नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिन्छ भने त्यसपछि क्रमशः स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको आराधना गर्ने धार्मिक परम्परा छ। नवरात्रका अवसरमा देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजा गर्ने भक्तजनको चहलपहल बढेको छ। काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान र भद्रकालीलगायत शक्तिपीठमा पनि भक्तजनको आगमनलाई ध्यानमा राख्दै विशेष सजावट गरिएको छ।
हिन्दू धर्मावलम्बीहरूले नवरात्रका नौ दिनसम्म नवदुर्गाको विधिपूर्वक पूजा आराधना गरी दसौँ दिन विजयादशमी मनाउने परम्परा छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गरी बडादशैं मनाइन्छ। बडादशैंलाई धार्मिक आस्था, पारिवारिक मिलन, आपसी सद्भाव र सांस्कृतिक परम्पराको महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया