दसैँमा घर फर्किने यात्रुको चाप बढ्यो, सडकको अवस्थाले यात्रा कष्टकर

52 Shares

बडादसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढेको छ । अध्ययन, रोजगारी र व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिस गाउँ फर्किन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चहलपहल बढेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको २४ घण्टामा मात्रै ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका बाताएका छन् ।

यात्रुको चाप बढिरहेका बेला सडकको अवस्थाले भने यात्रा सहज हुन सकेको छैन । विशेषगरी पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा सडक भासिएपछि यातायात सञ्चालन प्रभावित भएको हो । सडकमा भएको क्षति, मर्मतको काम र विभिन्न स्थानमा हुने जामका कारण सार्वजनिक सवारीसाधन निर्धारित समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रु व्यवस्थापनमा समेत समस्या देखिएको छ । नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बीपी राजमार्गजस्ता प्रमुख सडकमा आवागमन सञ्चालनमा रहे पनि केही खण्डमा मर्मत, एकतर्फी यातायात र सडकको क्षतिले यात्रामा ढिलाइ भइरहेको छ ।

सामान्य अवस्थामा चारदेखि पाँच घण्टामा पूरा हुने यात्रामा समेत १० देखि १२ घण्टाभन्दा बढी समय लाग्न सक्ने अवस्था रहेको छ । यसले चाडपर्वमा घर पुग्ने हतारमा रहेका यात्रुलाई थप सास्ती दिएको छ । यात्रुको चापसँगै सवारीसाधन व्यवस्थापनमा चुनौती थपिएकाले यातायात व्यवसायीले अग्रिम टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेका छन् ।