झापामा र्‍याडिसन होटल सञ्चालन हुने, ६५० जनालाई रोजगारी दिने लक्ष्य

20 Shares

झापा। पूर्वी नेपालको प्रमुख व्यापारिक तथा व्यावसायिक केन्द्रका रूपमा विकसित हुँदै गएको झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड र्‍याडिसन सञ्चालनमा आउने भएको छ। यस परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै क्षेत्रीय पर्यटन विकास र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। होटेल द किङ्सबरीलाई र्‍याडिसन ब्रान्डमा रूपान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको हो।

यस परियोजनामार्फत करिब ६५० जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ। अन्तर्राष्ट्रिय होटल व्यवस्थापन प्रणाली, सेवा मापदण्ड तथा आतिथ्य क्षेत्रको व्यावसायिक अनुभवलाई स्थानीय बजारसँग जोड्ने उद्देश्यले परियोजना अघि बढाइएको हो। अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशले बिर्तामोडमा व्यावसायिक भ्रमण, पर्यटन गतिविधि तथा होटल क्षेत्रमा लगानीका नयाँ सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ। पूर्वी नेपालमा पर्यटन पूर्वाधारलाई थप मजबुत बनाउँदै बिर्तामोडलाई अन्तर्राष्ट्रिय आतिथ्य तथा पर्यटनको नक्सामा स्थापित गर्न यो परियोजना महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

यसबाट स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै होटल तथा सेवा क्षेत्रको व्यावसायिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ। होटेल द किङ्सबरीका कार्यकारी निर्देशक जानु घितालका अनुसार, अन्तर्राष्ट्रिय व्यवस्थापन र सेवा प्रणालीलाई स्थानीय बजारसँग जोड्ने लक्ष्यसहित परियोजना अघि बढाइएको हो।

यसले नेपालको होटल उद्योगमा नयाँ सम्भावना सिर्जना गर्नुका साथै पूर्वी नेपालको पर्यटन विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।