साउदी अरेबियाका लागि प्रश्तावित राजदुत सुनारको कार्ययोजनाः श्रम सुरक्षा र कुटनीतिक सुधार प्राथमिकतामा

14 Shares

काठमाडाैं । साउदी अरेबियाका लागि प्रश्तावित नेपाली राजदुत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा र सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको छ ।

संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै सुनारले श्रम सम्झौताको पूर्ण कार्यान्वयन, मृतकको शव नेपाल पठाउने प्रक्रियालाई छिटो बनाउने र कुटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

प्रश्तावित राजदुत सुनारले सन् २०२७ मा नेपाल र साउदी अरेबियाबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ (गोल्डेन जुब्ली) मनाउन लागिएको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने दाबी गर्नुभयो । हाल साउदीमा करिव ३ लाख ८५ हजार नेपाली कार्यरत रहेको सरकारी तथ्यांक छ । सुनारले विशेष गरी श्रम सम्झौताको अभाव र ‘हुरुब’ (कामदार भागेको आरोप) लगायतका कारणले नेपाली कामदारले भोग्नुपरेको सास्तीबारे चासो व्यक्त गर्नुभयो ।

आफ्नो ‘१०० दिने कार्ययोजना’ सार्वजनिक गर्दै उनले पहिलो ३० दिनभित्र त्यहाँका पेन्डिङ मुद्दाहरूको अडिट गर्ने र कामदारको राहदानी नवीकरण तथा प्रमाणीकरणमा देखिएको झन्झट अन्त्य गर्न अनलाइन प्रणालीलाई प्रभावकारी बनाउने उल्लेख गर्नुभयो । उहाँले राहदानी वितरणलाई छिटो बनाउन राष्ट्रिय परिचयपत्रको विवरणसँग कनेक्ट गर्ने तथा दूतावासमा अरेबिक भाषा जान्ने दोभासे कर्मचारीको व्यवस्था गर्ने योजना अघि सार्नुभयो ।

आर्थिक कुटनीतिलाई प्राथमिकतामा राख्दै उनले साउदी अरेबियाको नियोम, रेड सी र किदिया जस्ता मेगा प्रोजेक्टहरूमा नेपाली दक्ष कामदारको सहभागिता बढाउने र नेपालमा साउदी लगानी आकर्षित गर्ने बताउनुभयो । हाल दुई देशबीच रहेको व्यापार घाटा कम गर्न र दोहोरो कर प्रणाली (डबल ट्याक्सेसन) को समस्या समाधान गर्न पहल गर्ने पनि उनले स्पष्ट पार्नुभयो । रे। त्यसैगरी, मृतकको शव नेपाल पठाउने प्रक्रियालाई हालको भन्दा छोट्याएर ७ दिनभित्र सक्ने गरी काम गर्ने उनको प्रतिवद्धता छ ।