कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा

26 Shares

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक रूपमा घोषणा गरिएको छ ।

ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने यो शो हास्य–व्यंग्यमा आधारित हुने भएकाे हाे। शोमा महानायक राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्ने भएका छन् । कलाकारहरू विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रवीन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहेका छन् ।

 

कार्यक्रमका लागि पाँच सहरमा अडिसन गरिने भएको हाे ।अडिसनबाट छनोट हुने ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ । आठ जनाको उक्त समूहको नेतृत्व चारजना क्याप्टेनहरुले गर्ने भएका हुन् ।

सुपर कमेडी लिग मूलतः समूहमा आधारित ढाँचामा प्रतिस्पर्धा हुने कार्यक्रम भएकोले एउटा स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकता अनुसार सो भन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिने भएका छन् । पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू मुख्यतः स्केच, स्किट तथा ड्रामेडी (ड्रामा र कमेडी) लगायत शैलीमा प्रस्तुति तयार गरिने आयोजकले जारि गरेकाे विज्ञप्तिमा उल्लेख गरेको गरिएकाे हाे ।

कार्यक्रमको नियमित प्रसारण आगामी भदौ अन्तिम हप्तादेखि शुरू हुने आयोजकले जनाएकाे छ।