टप दरबार रोधी क्लबले भाेलिदेखि ‘लोकदोहोरी मेला’ आयोजना गर्ने

132 Shares

काठमाडौं । काठमाडौंको जमलमा रहेकाे टप दरबार रोधी क्लबले ३ दिने ‘लोकदोहोरी मेला’ आयोजना गर्ने भएको छ।

यहि भदौ ५ देखि ७ गतेसम्म आयोजना हुने मेलामा नेपाली लोक तथा दोहोरी क्षेत्रका थुप्रै कलाकारको विशेष प्रस्तुति रहने भएकाे हाे। नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले लोकदोहोरी मेला आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

 

मेलामा राजु परियार, बद्री पंगेनी, प्रकाश सपूत, दुर्गेश थापा, प्रेमराजा महत, पुरुषोत्तम न्यौपाने, कृष्ण कँडेल, अर्जुन सापकोटा, पशुपति शर्मा, चन्द्र शर्मा, प्रकाश दुतराज, राजु ढकाल, देवी घर्ती, ज्योति मगर, प्रीति आले, वसन्त थापा, प्रियंका कार्की र एलिना चौहान लगायतले प्रस्तुति दिने भएका हुन् । टप दरबार रोधी क्लबमा नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारको समेत विशेष प्रस्तुति रहने क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी गराएकाे छ।

७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्लबमा एक पटकमा करिब २ सय जना अट्ने क्षमता छ । प्रत्यक्ष रूपमा १ सय भन्दा बढीलाई रोजगारी प्रदान गरिएको क्लबका सञ्चालक अशोक गिरीले बताएका हुन् ।