नेप्से १३.४६ अंकले घट्यो, कारोबार रकम पनि १ अर्बभन्दा बढीले खुम्चियो

15 Shares

काठमाडौं, असार ४ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १३.४६ अंकले घटेर २,७६६ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन २.६६ अंकले बढेको बजार आज भने साढे १२ बजेदेखि ओरालो लाग्दै बन्द भएको हो। आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो दिन ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ७० करोड रुपैयाँमा सीमित रह्यो। समूहगत सूचकतर्फ अधिकांश उपसमूह राताम्मे रहे। व्यापार समूह सबैभन्दा धेरै १.७१ प्रतिशतले घट्यो। यस्तै बैंकिङ ०.०३, विकास बैंक ०.४४, फाइनान्स ०.२३, होटल तथा पर्यटन १.०७, जलविद्युत् ०.५१, लगानी ०.४६, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा १.२० तथा अन्य समूह ०.७५ प्रतिशतले घटेका छन्। कारोबार दिनमा कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढ्यो। त्यसपछि न्यादी हाइड्रोपावर ९.१६ प्रतिशत र सेन्ट्रल फाइनान्स ४.७८ प्रतिशतले उकालो लागे।

मूल्य बढ्ने कम्पनीहरूको सूचीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका डिबेन्चरहरू पनि अग्रस्थानमा रहे। यता, विजय लघुवित्तको सेयर मूल्य ४.६९ प्रतिशतले घट्दा भगवती हाइड्रोपावर ४.२७ प्रतिशत, आँखुखोला जलविद्युत् ४.०७ प्रतिशत तथा होटल फरेस्ट इन ३.६६ प्रतिशतले घटेका छन्। कारोबार रकमका आधारमा एभरेस्ट बैंक डिबेन्चर २०८६ सबैभन्दा अगाडि रह्यो।

त्यसपछि आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा, सप्तकोशी डेभलपमेन्ट बैंक, रिडी पावर तथा नेपाल इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ।