सुनकोसीमा खस्यो खोटाङ जाँदै गरेको सुमो, तीन जनाको मृत्यु

42 Shares

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीस्थित सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने चालकसहित चार जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

१ ज २९७६ नम्बरको सुमो आइतबार राति करिब २ः३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट करिब दुई सय मिटर तल सुनकोसी नदीमा खसेको हो । गाडीमा चालकसहित १० जना सवार थिए । दुर्घटनामा मृत्यु भएका तीनै जना महिला रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुल्न सकेको छैन ।

उद्धार गरिएकामा खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, १३ वर्षीय अंकित विश्वकर्मा र चालक ओखलढुंगाका आशिष विष्ट रहेका छन् । दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी भइरहेको छ । घाइतेहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको जनाइएको छ ।