भारतको राजधानी नयाँदिल्लीमा प्रदर्शनमा सहभागी भएकाहरूविरुद्ध प्रहरीले कम्तीमा तीनवटा मुद्दा दर्ता गरेको छ । प्रदर्शनसँग सम्बन्धित सामग्री सार्वजनिक गरेका १७ वटा सामाजिक सञ्जाल खातामाथि पनि प्रहरीले कारबाही अघि बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीमा शुक्रबार भएको ‘तिरंगा मार्च’का क्रममा प्रदर्शनकारीले निषेधाज्ञा उल्लङ्घन गरेको, सडक अवरुद्ध गरेको र प्रहरीको काममा बाधा पु¥याएको आरोपमा मुद्दा दर्ता गरिएको हो । प्रहरीले प्रदर्शनका क्रममा भएका घटनासँग सम्बन्धित भिडियो र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रदर्शनकारीहरूले मतदाता नामावली पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका थिए । प्रहरीले प्रदर्शनका क्रममा १०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ ।
प्रदर्शनसँग सम्बन्धित केही राजनीतिक तथा विद्यार्थी संगठनका नेताहरू पनि पक्राउ परेका थिए । प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका झडपका भिडियो, अपमानजनक अभिव्यक्ति तथा भ्रामक सामग्रीसम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ ।
केही सामग्रीबाट सार्वजनिक शान्ति भङ्ग हुन सक्ने भन्दै प्रहरीले सामाजिक सञ्जालका सञ्चालक कम्पनीसँग समेत समन्वय गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया