डेढ महिनादेखि बन्द तातोपानी नाका तीन दिनका लागि खुल्यो

40 Shares

चीनसँगको व्यापारिक सम्बन्धको महत्त्वपूर्ण नाका तातोपानी तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकस्थित उक्त नाका आइतबारदेखि कात्तिक ३ गतेसम्म खुल्ने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँका बेला वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले नाका खोल्ने निर्णय गरिएको बताएको  हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गर्दै नाका अस्थायी रूपमा सञ्चालन गर्न सहमति जनाएको हो ।

नाका सञ्चालन हुने अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ । लामो समयदेखि बन्द रहेको नाका तीन दिनका लागि खुल्दा चीनबाट सामान आयात गर्ने व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।