काठमाडौं । नेकपा एमालेकी नेतृ तथा वागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न अझै कायमै रहेको बताउनुभएको छ।
११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै नेतृ शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले सबै नेपालीले देशलाई माया गर्नुपर्ने र वर्तमान चुनौतीहरू सामना गर्न सबै नेपालीबीच एकताको आवश्यकता रहेको बताउनुभयो।
उहाँले देश रहे मात्र नागरिकको अस्तित्व रहने भएकाले नेपाललाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न सबैलाई आग्रह गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
समाजवादको लक्ष्य हासिल गर्न शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायका क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो।
नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरू राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने पनि बताउनुभयो। महिलाहरू विभिन्न राजनीतिक दलमा आवद्ध भए पनि राष्ट्रिय मुद्दामा एउटै आवाज आवश्यक रहेको उहाँको धारणा थियो।
संविधानले महिलाका हकअधिकार सुरक्षित गरिसकेको र राज्यका विभिन्न निकायमा महिलाको पहुँच बढ्दै गएको अवस्थामा महिलाहरू चुप लागेर बस्न नहुने उहाँको भनाइ छ। नेपालको राजनीतिक इतिहासमा महिलाहरूले आफ्नो भूमिका प्रमाणित गरिसकेको उल्लेख गर्दै उहाँले महिलाहरूलाई एकअर्कालाई प्रेरित गर्दै देश निर्माणमा सक्रिय हुन आह्वान गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया