बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेकै हो : बासना थापा

19 Shares

काठमाडाैं । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताउनुभएको छ ।

बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उहाँले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरेपनि त्यसपछि भने योजनासहित अघि बढ्न नसकेको बताउनुभएको हो । उहाँले विपद्पछिको उद्धारमा राज्यले मित्रराष्ट्रहरुसंगको सहयोग समयमा नै लिन नसक्दा थप समस्या भएको बताउनु भयो ।

 

जलविद्युत आयोजनाको टनेलभित्र मानिस अझै उद्धार गर्न नसकिएको उहाँको भनाई छ । टनेल निर्माणका क्रममा तयार भएका नक्शा र प्राविधिक विवरण सम्बन्धित निकायसँग भएपनि उद्धार टोली कतिपय टनेलको वरिपरिसम्म पुग्न नसकेको उहाँले बताउनु भयो । सरकारले टनेलभित्रको मानिस उद्धार गरेको भनेर गलत प्रचार गरेको पनि उहाँले आरोप लगाउनु भयो । टनेल बाहिर भएका साइड-साइडका मान्छेहरू उद्धार गरेपनि टनेलभित्रका मानिसको उद्धार हुन नसकेको उहाँले बताउनु भयो ।

त्रिशूली-३ ए आयोजनाको टनेलभित्र अझै जीवित मानिस हुनसक्ने भन्दै उहाँले उद्धारको प्रयास जारी राख्नुपर्ने बताउनु भयो । उहाँले विपद्का बेला विदेशी सहयोग लिन गाह्रो मान्न नहुनेमा पनि जोड दिनुभयो । सरकारले नागरिकको उद्धारका लागि स्थानीय तह र प्रदेश सरकारसंग प्रभावकारी समन्वय गर्न नसकेको पनि आरोप लगाउनुभयो । उहाँले सरकारले स्थानिय तहलाई तुईन व्यवस्थापन तथा आवश्यक उद्धार गर्न पनि नदिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकदमै इमर्जेन्सीमा आएको बाढीका बेला राज्य, सरकारले र हामीले जति गर्न सक्थ्यौँ, दुई दिनभित्र त्यति ग¥यौँ । त्यसका लागि खासै कुनै कम्प्लेन पनि छैन । त्योभन्दा बढी गर्न सक्ने अवस्था पनि थिएन, सीमित स्रोत-साधनका बीच ती दुई दिनमा हामीले गर्न सक्ने काम गर्‍यौँ । तर दुई दिनपछि हामी धेरै हदसम्म सम्हालिइसकेका थियौँ र हतोत्साहित अवस्थाबाट पनि बाहिर आइसकेका थियौँ । त्यसपछि प्रिप्लानिङसहित अगाडि बढ्नुपर्थ्यो, तर हामी त्यसमा चुकेका छौँ । चुकेकोलाई चुकेको भन्नैपर्छ । बाहिर मिडियामा होस् वा यहाँ अगाडि, हामीले त्यो कुरा स्पष्ट रूपमा भन्नुपर्छ, हामी चुकेकै हौँ । किनभने ती टनेलहरू निर्माण नक्साहरू हामीसँग पनि थिए होलान् । तर प्राविधिक टोलीहरू तत्कालै टनेलको वरिपरि पनि पुग्न सकेनन् । बाहिर के भ्रम फैलाइएको थियो भने धेरै टनेलबाट यति जना मानिस निकालियो, उति जना मानिस निकालियो भन्ने । तर अहिलेसम्म कुनै पनि टनेलभित्र पसेको मानिस निकालिएको छैन । यहाँ उपस्थित माननीयज्यूहरू र मिडियाका साथीहरूमध्ये कसैले भनिदिनुस्, कुन टनेलभित्र मानिसहरू पुगेर उद्धार गरिएको हो ? टनेल बाहिर, साइड-साइडमा भएका मानिसहरूलाई हामीले उद्धार गरेका हौँ, त्यो ठीक हो । तर हामीले कुनै पनि टनेल खोल्न सकेका छैनौँ र अहिलेसम्म कुनै टनेलभित्र पनि मानिस पुग्न सकेको छैन । अहिले त्रिशूली-३ ए को कुरामा पनि हाम्रो दैलेखका पाँच जनामध्ये दुई जना त्यहाँभित्र हुनुहुन्छ भन्ने आशङ्का छ । त्रिशूली-३ ए भित्र अझै पनि उहाँहरू जीवित हुनुहुन्छ भन्ने आशा हामीले राखेका छौँ । किनभने विद्युत् प्राधिकरणका कर्मचारीहरूले त्यहाँ सुरक्षित रूपमा बस्न सकिने ठाउँ रहेको बताइरहनुभएको छ । हामी त्यही आशमा बसिरहेका छौँ कि त्यहाँ जति जना हुनुहुन्छ, उहाँहरू सुरक्षित हुनुहुन्छ होला । तर आजसम्म पनि हामी त्यहाँसम्म पुग्न र खोल्न सकिरहेका छैनौँ । किनभने दुई दिन अगाडि नै हामीलाई सहायता चाहिँदैन, विदेशी सहायता चाहिँदैन भनेर एउटा किसिमको धारणा बनाइयो । तर हिजो प्रधानमन्त्रीज्यू आएर प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै हामीलाई झुटो बोल्नुभयो । उहाँले हिजो हामीले विदेशी सहायता लिन्नौँ भनेका छैनौँ भन्नुभयो ।’

उहाँले राहत पर्याप्त भएपनि वितरणमा समस्या देखिएको बताउनु भयो । कतिपय स्थानमा पूर्वाधार अभावको कारण नै राहत पुग्न नसकेको उहाँको भनाई छ । उहाँले प्रभावित क्षेत्रमा विद्युत तत्काल शुचारु गर्न आवश्यक रहेको पनि बताउनु भयो ।