निषेधाज्ञा र कर्फ्युले मतदातामा त्रास फैलाएको एमालेको आरोप

146 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको नौ दिनअघि देशका विभिन्न स्थानमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनकै कमजोरी भएको टिप्पणी गर्नुभयो । निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका शाहीले सरकारका यस्ता कदमले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले मधेस–तराइका विभिन्न जिल्लामा लगाइएको कर्फ्युले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्‍याउने काम गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ ।

समाजमा विभिन्न बहानामा निर्वाचन सार्ने भ्रामक हल्ला फैलिएकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दोहोर्‍याएको छ ।

एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै शाहीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारिएको जानकारी दिनुभयो ।