संविधान संशोधन बिना राजनीतिक समस्या समाधान सम्भव छैन : उपेन्द्र यादव

172 Shares

काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादव ले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ।

शुक्रबार काठमाडाैंमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दाबी गर्नुभयो। उहाँले प्रदेश र स्थानीय तहका अधिकार संकुचित गरिएकाले संघीय संरचना कमजोर बनेको उल्लेख गर्नुभयो।

संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहका अधिकारहरूको सूची अधुरो तथा कतिपय अवस्थामा विरोधाभासपूर्ण रहेको उहाँको भनाइ छ। अध्यक्ष यादवले प्रदेशहरूको पुनःसंरचना आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको उल्लेख गर्दै मुलुकका सबै क्षेत्रमा अझै समावेशी सहभागिता सुनिश्चित हुन नसकेको बताउनुभयो।

उहाँका अनुसार राज्यका निकायमा आंशिक समावेशिता भए पनि जनसंख्याको आधारमा प्रतिनिधित्व हुन नसकेको छ। साथै नेपालको संसदीय प्रणाली असफल भइसकेको र वर्तमान निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको पनि उहाँले टिप्पणी गर्नुभयो।

संघीय शासन प्रणाली लागू भए पनि न्याय प्रणाली अझै केन्द्रिकृत ढाँचामा सीमित रहेकाले प्रदेश र स्थानीय तह अधिकारविहीन बनेको भन्दै यी सबै समस्याको समाधानका लागि संविधान संशोधन आवश्यक रहेको उहाँले जोड दिनुभयो।