मुलुकलाई निकाश दिने प्रमुख माध्यम निर्वाचन होः रवि लामिछाने

122 Shares

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा मुलुकलाई सही दिशामा अघि बढाउने प्रमुख माध्यम निर्वाचन भएको बताएका छन् । आज गुल्मी जिल्लाका मतदातालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक प्रणालीमार्फत जनताको मतले देशको भविष्य निर्धारण हुने भएकाले सचेत भएर मतदान गर्न आग्रह गरे ।

चुनावी प्रचारका क्रममा रिडी हुँदै तम्घास पुगेका लामिछानेले आममतदाताले सक्षम नेतृत्व छान्नुपर्नेमा जोड दिए । उनले विगतका राजनीतिक अभ्यासबाट जनतामा निराशा बढेको उल्लेख गर्दै अब स्थिरता र विकासका लागि एउटै दललाई बहुमत दिएर नयाँ इतिहास रच्ने समय आएको धारणा राखे ।

उनले रास्वपा देश परिवर्तनको अभियानमा रहेको दाबी गर्दै यस अभियानमा सहकार्य र समन्वय गरी साथ दिन नागरिकलाई आह्वान गरे । गलत नेतृत्व चयन भए मुलुकले थप दुःख भोग्नुपर्ने चेतावनी दिँदै उनले योग्य नेतृत्व र स्पष्ट दृष्टिकोण भएको दल रोज्न मतदातालाई आग्रह गरे ।

प्रचार कार्यक्रमकै क्रममा लामिछानेले सदरमुकाम तम्घासस्थित सहिद शमशेरबहादुर खत्री को शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय मतदाताको उल्लेख्य सहभागिता रहेको थियो ।

रास्वपाबाट सागर ढकाल गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट तथा गोविन्द पन्थी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । पार्टीले जिल्लामा बलियो उपस्थिति बनाउन घरदैलो, सभा तथा अन्तरक्रियालाई तीव्र बनाएको जनाएको छ ।

निर्वाचन आयोगका तथ्यांकअनुसार गुल्मी जिल्ला मा कूल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् । चुनाव नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ भने मतदातामा पनि चुनावी चासो बढ्दै गएको देखिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा नयाँ दलहरूको प्रभाव, मतदाताको मनोविज्ञान र विकास–सुशासनका मुद्दाले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।