भोट दिनुअघि हजारौं पटक सोच्न लिङ्देनको आग्रह

131 Shares

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई आग्रह गर्नुभएको छ।

श्रीवैष्णव युवा परिषद् नेपाल को चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आग्रह गर्नुभएको हो। नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरूको मात्र नभई मतदाताको समेत दोष रहेको उहाँको भनाइ छ।

मतदान कन्यादान भन्दा समेत ठूलो कुरा भएको उल्लेख गर्दै उहाँले सचेत भई राष्ट्र र समाजलाई चाहिने नेतालाई मात्र मतदान गर्न आग्रह गर्नुभयो। मत गलत व्यक्ति वा गलत पार्टीलाई परेमा सिंगो समाज र देशले दुःख पाउने उहाँको दाबी छ।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई अघि सार्दै प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुँदै आएको छ।