काठमाडौं । काठमाडौं मा आयोजित एक कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना प्रवाह आवश्यक रहने बताएका छन्।
‘मिडियामा सूचनाको हकको प्रयोग : अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सही सूचना सही समयमा उपलब्ध हुनु आवश्यक रहेको बताएका हुन्। कार्यक्रम नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोग ले संयुक्त रूपमा आयोजना गरेका थिए।
मन्त्री खनालका अनुसार समाजलाई शान्त, सभ्य र सौम्य राख्न सही सूचना सही समयमा र सही कारणले दिनुपर्ने हुन्छ। एउटै सूचना कसैले दुई दिनमा र कसैले १५ दिनमा पाउँदा ठूलो फरक पर्ने उनले उल्लेख गरे।
उनले सूचनाको हक समाचारका लागि भन्दा पनि कहिलेकाहीँ स्वार्थ समूहले प्रयोग गर्ने गरेको गुनासो समेत गरे। अर्थ मन्त्रालयबाट मागिएको सूचना कतिपय अवस्थामा अन्य उद्देश्यका लागि प्रयोग भएको देखिएको उनको भनाइ थियो।
सरकारी क्षेत्रसँगै व्यवसायिक क्षेत्रमा पनि सूचनाको हक लागू हुने भन्दै उनले नागरिकसम्म सूचनाको पहुँच बढाउन प्रचार–प्रसार आवश्यक रहेकोमा जोड दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया