काठमाडौं । काठमाडौं मा बसेको राष्ट्रिय सभा बैठकमा ‘तल्लो जात’ शब्द प्रयोगलाई लिएर नियमापत्ति भएको छ।
राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल ले शुक्रबारको बैठकमा बोल्ने क्रममा उक्त शब्द प्रयोग गरेकी थिइन्। मधेश प्रदेशका पछाडि परेका समुदाय र विशेष गरी महिलाहरू बढी उत्पीडनमा रहेको विषय व्याख्या गर्ने क्रममा उनले सो शब्द प्रयोग गरेकी थिइन्।
तर उक्त शब्दले दलित समुदायको अपमान हुने भन्दै सांसद पदम परियार ले नियमापत्ति गरेका छन्। उनले नेपाल मा ६० लाखभन्दा बढी दलित समुदाय रहेको उल्लेख गर्दै यस्तो शब्द प्रयोग गर्न नपाइने बताएका छन्।
नेपालको संविधानअनुसार कुनै पनि जातजाति तल्लो–माथिल्लो वा उच्च–निच नभएको उल्लेख गर्दै उनले उक्त शब्द संसदीय अभिलेखबाट हटाउन माग गरेका छन्।
जवाफमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल ले नियमापत्तिको विषयमा अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया