काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेस नयाँ सोच र नयाँ नेतृत्वसहित अघि बढेको दाबी गर्नुभएको छ ।
भैरहवामा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुने निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल बन्ने दाबी गरे । देशका विभिन्न स्थानबाट प्राप्त सूचनाअनुसार कांग्रेस पहिलो पार्टी बन्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।
शर्माले कांग्रेस बहुमतको दिशातर्फ अग्रसर भइरहेको उल्लेख गर्दै नयाँपन जन्ममिति होइन, सोच, दृष्टिकोण र नेतृत्वको परिवर्तनले आउने बताए । उनले जेनजी आन्दोलनका क्रममा भएको मानवीय, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिको क्षतिले आम नागरिकको मन दुखेको बताए पनि आन्दोलनले परिवर्तनको सन्देश दिएको बताए ।
उनले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर कांग्रेसले देशभर आशा र भरोसा जगाएको दाबी गरे । अहिले विशेष महाधिवेशन ठीक वा बेठीक भन्ने बहस गर्ने समय नभएको भन्दै उनले पार्टीभित्र एकता कायम गरी चुनावमा बहुमत ल्याउन कार्यकर्ता र नेताहरुलाई आग्रह गरे ।
कार्यक्रममा पूर्व गृहमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले पनि आगामी निर्वाचनमा कांग्रेसको बहुमत आवश्यक रहेको भन्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर उम्मेदवार जिताउन आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया