कोशी प्रदेशमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीले लिए जानकारी

149 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशका निर्वाचनसँग सम्बन्धित अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ।

सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले कोशी प्रदेशको समग्र अवस्थाबारे छलफल गर्नुभएको हो। छलफलमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरे, विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोशी प्रदेशको सुरक्षा अवस्था र निर्वाचन लक्षित योजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीको प्रशंसा गर्दै सबै निकायबीच समन्वय कायम गर्दै चुस्त व्यवस्थापन गर्न निर्देशन दिनुभयो। साथै निर्वाचनको वातावरण बिगार्ने कुनै पनि गतिविधि भए तत्काल नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो।

यसअघि प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचन तयारी र अवस्थाबारे जानकारी लिनुभएको थियो।

कोशी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदैछ। निर्वाचनका लागि प्रदेशमा ५१ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।