काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लामा आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्न सकिने बताउनुभएको छ । निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा भौगोलिक चुनौतीको स्थलगत अध्ययन गर्न प्रधानमन्त्री कार्की सोलुखुम्बु पुगेकी हुन् ।
स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले हिमाली क्षेत्रमा पनि निर्वाचन गराउन सरकार तयार रहेको बताउँदै कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गर्नुभएको छ । उहाँले देशलाई अस्थिरताबाट मुक्त गर्न निर्धारित मितिमा निर्वाचन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न हुनेमा विश्वस्त रहन मतदाता, राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गर्नुभएको छ । सरकारले सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको जनाइएको छ ।
सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र मौसमका चुनौतीलाई ध्यानमा राख्दै वैकल्पिक योजना समेत तयार गरेको जनाएको छ । आवश्यक परे हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउने विकल्प पनि खुला राखिएको यसअघि प्रधानमन्त्रीले बताइसक्नुभएको छ ।
जिल्ला प्रशासनका अनुसार सोलुखुम्बुमा १२३ मतदानस्थल छन्, जसमध्ये केही हिमाली क्षेत्रमा पर्ने भएकाले मौसम र भूगोललाई ध्यानमा राखेर विशेष तयारी गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया