काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति लगायत पार्टीका सम्पूर्ण जिम्मेवारी तथा कर्णाली प्रदेश संसदीय दलको सदस्य पदबाट हटाउने निर्णय गरेको जनाएको छ ।
पार्टीको उक्त निर्णयबारे कर्णाली प्रदेशसभा दलको कार्यालय, वीरेन्द्रनगरले प्रदेशसभा सचिवालयलाई औपचारिक पत्राचारमार्फत जानकारी गराएको छ । प्रमुख सचेतक कृष्णबहादुर जी.सी.द्वारा हस्ताक्षरित पत्रमा शर्माले पार्टीको नीति, सिद्धान्त, उद्देश्य तथा आचारसंहिताविपरीत गतिविधि गरेको र पार्टी विधान २०८२ तथा कर्णाली प्रदेश संसदीय दलको विधान २०८२ को प्रतिकूल कार्य गरेको उल्लेख गरिएको छ ।
पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) अनुसार पार्टी सदस्यबाट निष्कासित भएपछि सम्बन्धित जनप्रतिनिधिको पदसमेत कायम नरहने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया अघि बढाउन प्रदेशसभा सचिवालयसँग अनुरोध गरिएको छ । साथै, सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम दल त्याग गरेको सूचना पनि सचिवालयलाई पठाइएको जनाइएको छ ।
पार्टी अनुशासन, नीति र संगठनात्मक एकता कायम राख्न यस्तो निर्णय लिनुपरेको नेकपाको दाबी छ । पछिल्लो समय विभिन्न प्रदेश तथा निर्वाचन क्षेत्रमा देखिएको आन्तरिक असन्तुष्टि र बागी गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले पार्टीले कडा कदम चालिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
यसअघि नेकपाले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) लाई पनि पार्टीविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा निष्कासन गरेको थियो । दाङ निर्वाचन क्षेत्र नं. १ मा नेकपाका उम्मेदवार मेटमणि चौधरीविरुद्ध बागी उम्मेदवारी दिएका कारण उनीमाथि कारबाही गरिएको थियो ।
राजनीतिक वृत्तमा शर्मामाथिको कारबाहीलाई पार्टी अनुशासन कायम राख्ने प्रयासका रूपमा हेरिएको छ भने यसले कर्णाली प्रदेशको राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया